संसारका युवा लोभ्याउने साहसिक पर्यटन

संसारका युवा लोभ्याउने साहसिक पर्यटन

‘साहसिक पर्यटनमा रुची राख्ने विश्वका नौजवानहरुलाई पागल बनाउने तागत नेपालसँग छ, साहसिक पर्यटनमा नेपालभन्दा उत्कृष्ट अर्को मुलुक अर्को हुनै सक्दैन’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा व्यक्त गरेको यो विचार निकै सान्दर्भिक थियो ।

मोदीले साहसिक पर्यटनमा नेपाल उत्कृष्ट गन्तव्य भएको कुरा यत्तिकै भनेका थिएनन् । नेपाललाई नजिकबाट बुझेका मोदीले भनेजस्तै नेपाल साहसिक पर्यटनमा ठूलो सम्भावना बोकेको मुलुक हो । तर, सम्भावनाको सानो हिस्सा पनि उपयोग गर्न सकिएको छैन ।

साहसिक पर्यटनको विकासमा सरकारी नीति स्पष्ट हुन नसक्दा उल्लेख्य प्रगति गर्न नसकिएको बताउँछन् पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ ।  सरकारी नीति उदार नहुँदासम्म साहसिक पर्यटनको विकास सम्भव नहुने उनको भनाइ छ ।

Himal-Arohan

हिमाल अारोहण ।

नेपालमा साहसिक पर्यटन व्यवसायको इतिहास लामो छ । सन् १९५० को दशकमा ब्रिटिस नागरिक जिम्मी रोबर्टले माउन्टेन ट्राभल मार्फत नेपालमा साहसिक पर्यटनको व्यवसायिक सुरुवात गरेका थिए । साहसिक पर्यटनले व्यवसायिक रुप लिएको करिव ७० वर्ष पुग्दासमेत हामीले यस क्षेत्रमा गर्व गर्न लायक प्रगति गर्न सकेका छैनौं ।

विदेशीको प्रयासमा ट्रेकिङको सुरुवातसँगै नेपालमा साहसिक पर्यटनको विकास हुन थालेको हो । सन् १९५० र १९६० को दशकमा विदेशी नागरिकबाट स्थापित गरिएका साहसिक पर्यटनका प्रोडक्टहरुलाई अहिलेसम्म बिक्री वितरण गरिँदै आएको व्यापार विज्ञसमेत रहेका श्रेष्ठ दाबी गर्छन् ।

साहसिक पर्यटनमा नेपाललाई प्रकृतिले बरदान दिए पनि सरकारले चाल पाउन नसकेको देखिन्छ । विदेशमा अर्बौं रुपैयाँ खर्च गरी पूर्वाधार निर्माण गरेर साहसिक गतिविधि सञ्चालन गरेको पाइन्छ । यहाँ सानो रकम खर्च गरेर विश्वकै उत्कृष्ट थ्रिलर गतिविधि सञ्चालन गर्न सकिने भए पनि प्रगति कछुवाको गतिमा छ ।

Jungle-Safari-2

हात्तिबाट जंगल सफारी ।

अहिले नेपालमा बञ्जी जम्प, र्‍याफ्टिङ, क्यानोनिङ, माउन्टेन क्लाइम्बिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, रक क्लाइम्बिङ, बुलडेरिङ, हाइकिङ, बुस हाइकिङ, ट्रेल रनिङ, रिभर हाइक, मोटर बाइकिङ, जीप फ्लाई, माउन्टेन फ्लाइट, स्काई डाइभिङ, ट्रेकिङ, साइक्लिङ, केवुलकार लगायतका साहसिक गविधिहरु सञ्चालन गरिँदै आएको छ ।

नेपालमा सबैभन्दा बढी चलेको बञ्जी जम्पको सुरुवात गर्ने पनि विदेशी नै हुन् । विदेशी नागरिकले नेपालीसँग मिलेर भोटेकोशीमा बञ्जी जम्पको सुरुवात गरेका थिए । अहिले ब्रान्ड बनिसकेको बञ्जी यही वर्षदेखि पोखरामा समेत सुरु गरिएको छ ।

‘साहसिक पर्यटनको विकास राष्ट्रको सीमित स्रोत र साधनबाट पनि गर्न सकिन्छ, तर सरकारले दूरदृष्टि लगाउन सक्नुपर्छ’ श्रेष्ठले भने- ‘साहसिक पर्यटनबाट ठूलो लाभ लिनका लागि विदेशी लगानीकर्ता नभित्राई हुँदैन ।’ नेपालीहरुसँग प्रोडक्ट डेभलप गर्ने क्षमता र बजारको पहुँच नभएको हुँदा पनि विदेशी लगानीकर्ता भित्राउनुपर्ने देखिन्छ ।

Bungy-Jump

भोटेकोशीमा बञ्जी जम्प गर्दै युवती ।

श्रेष्ठका अनुसार यस व्यवसायमा लागेकाहरुसँग नयाँ प्रोडक्ट विकास गर्ने क्षमता नहुनु, बजारको अभाव हुनु, प्रचार-प्रसार गर्न नसक्नु लगायत साहसिक पर्यटन विकासको अवरोध बनेका छन् । त्यसो त पछिल्लो समय केही व्यवसायीहरु नयाँ प्रोडक्ट डेभलप गरी स्थापित गर्न लागेको छाँगो क्यानोनिङ कम्पनीका सञ्चालक विनय शाक्य बताउँछन् ।

शाक्य बुस हाइक, ट्रेल रनिङ, बर्ड वाचिङ, रिभर हाइक, चिसापानीमा फिसिङ लगायतका प्रोडक्टहरुको ब्रान्डिङमा लागेका छन् । प्रोडक्ट डेभलप गरेपनि बजारमा पँहुच पुर्‍याउन नसक्नु कमजोरीका रुपमा देखिएको उनको ठम्याइ छ ।

व्यवसायीहरुले ब्रान्डिङ गरेर बिक्री गरिरहेका सफारी टुरिजम, ट्रेकिङ टुरिज्म, बञ्जी जम्प, काठमाडौंको साइट सीन अवलोकन, हिमाल आरोहण विदेशीले विकास गरिदिएका हुन् । नयाँ प्रोडक्टलाई स्थापित गर्न नसकेपछि व्यवसायीले अहिलेसम्म विदेशीले स्थापित गरेको प्रोडक्टलाई मूल्य घटाएर बिक्री गरी कमाइ रहेका छन् ।

cycling

हिमाली जिल्लामा साइक्लिङमा निस्किएका यूवाहरू ।

विदेशीहरुसँग प्रोडक्ट डेभलप गर्न सक्ने क्षमता, पूँजी र बजार पहुँच भएको हुँदा उनीहरुलाई यसमा आकर्षित गर्नुपर्ने देखिन्छ । साहसिक पर्यटनमा विदेशी लगानीकर्ता आकर्षित गर्न नसक्नुमा नेपालको कानुन नै मुख्य बाधक रहेको श्रेष्ठ दाबी गर्छन् ।

साहसिक गतिविधि सञ्चालन गर्ने अधिकांश स्थानहरु निकुञ्ज तथा सरकारको जमिनमा पर्छन् । उक्त जग्गा भोगचलन गर्न नपाउँदा पनि यस्ता गतिविधिमा स्वदेशी विदेशी लगानी बढाउन नसकिएको हो । सरकारको जमीन कसको स्वामित्वमा रहने भन्ने कुरा प्रमुख हुन आउँछ ।

‘सरकारले टुरिज्मलाई विशेष आर्थिक क्षेत्रमा समावेश गरी साहसिक गतिविधि सञ्चालन गर्न सकिने ठाउँ लामो समयसम्म लगानीकर्तालाई भोगचलन गर्न दिने र पछि आफ्नो स्वामित्वमा लिने गरी कानुन बनाउनुपर्छ,’ श्रेष्ठले भने- ‘अनिमात्र विदेशी लगानीकर्ताहरुलाई साहसिक पर्यटनमा आकर्षित गर्न सकिन्छ ।’

Sky-Diving

स्काइडाइभिङ ।

नेपाली व्यवसायीको अधिनमा बजार नभएको हुँदा विदेशी मल्टिनेशनल कम्पनीलाई जग्गा जिम्मा लगाएर साहसिक गतिविधि सञ्चालन गर्न दिएमा उसले साहसिक पर्यटनका पारखीहरु (जसले मनग्ये पैसा खर्च गर्न सक्छन्) लाई नेपाल ल्याउँछन् ।

नेपाली व्यवसायीहरुले विदेशीसँग संयुक्त लगानी गरेर साहसिक पर्यटनका गतिविधि सञ्चालन गर्न सुझाव दिन्छन् श्रेष्ठ । व्यवसायीहरु आफै विदेशी लगानीकर्ता खोजेर नेपाल भित्राउनेतर्फ लाग्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय विदेशीमात्र नभई नेपालीहरु पनि साहसिक पर्यटनमा चासो राख्न थालेको पाइन्छ । बञ्जी जम्प, र्‍याफ्टिङ, ट्रेकिङ, जंगल सफारी, साइट सिन अवलोकन, ट्रेकिङ, हाइकिङ, प्याराग्लाइडिङ लगायतका गतिवधिमा नेपालीहरुको उल्लेख्य सहभागिता देखिन्छ ।

Canying

क्यानोनिङ ।

साहसिक गतिविधिमा चासो नराख्ने चिनियाँ र भारतीय पर्यटक समेत पछिल्लो समय साहसिक गतिविधिमा उल्लेख्य सहभागिता देखिन थालेको छ । नयाँ-नयाँ गतिविधिहरु विकास गरी राम्रो मार्केटिङ गर्न सकेमा नेपालको प्रमुख आम्दानीको स्रोत बन्न सक्छ साहसिक पर्यटन ।

नेपालमा विश्वकै अग्ला हिमाल, सुन्दर पहाड, खोँच, ठूला नदीहरु, तालतलैया, भिर पाखा, जंगल, पशुपन्छी लगायत रहेको हुँदा साहसिक पर्यटनको पूर्वाधार आफै खडा भएका छन् । मात्र यसलाई ब्रान्डिङ गरेर बिक्री गर्ने व्यवसायीहरुको अभाव देखिएको हो ।
साहसिक पर्यटनमा रुची राख्नेहरु मनग्ये पैसा खर्च गर्न तयार हुन्छन् । संसारका सबैभन्दा बढी खर्चालु जंगल सफारीमा निस्कने पर्यटक हुन्छन् । यहाँ जंगल सफारीका लागि दर्जनौं जंगलहरु रहेका छन् ।

सुस्त, तर प्रगतिउन्मुख

साहसिक पर्यटनको बजार विशाल छ । तर, मार्केट पहिचान गर्ने क्षमता सरकार तथा व्यवसायीसँग हुनु आवश्यक देखिन्छ । पछिल्लो समय नेपाली व्यवसायीहरु साहसिक पर्यटन व्यवसायमा केन्द्रित हुन थालेका छन् ।

Rafting

त्रिशुलीमा र्‍याफ्टिङ ।

सरकारले साहसिक पर्यटन व्यवसायलाई कानुनी दायरामा ल्याई संरक्षण गर्नका लागि नीतिसमेत बनाएको छ । पर्यटन विभागका महानिर्देशक तुलसी गौतमका अनुसार अहिलेसम्म २ वटा बञ्जीजम्म र ४५ वटा र्‍याफ्टिङ व्यवसाय दर्ता भएका छन् भने अरु दर्ता हुने क्रममा छन् ।

अल्ट्रालाइट र प्याराग्लाइडिङ सञ्चालनका लागि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने गर्छ । विशेषगरी अल्ट्रालाइट र प्याराग्लाइडिङ पोखरामा सञ्चालन हुँदै आएकोमा पछिल्लो समय अन्य जिल्लाहरुमा पनि प्याराग्लाइडिङ गराउन थालिएको छ ।

प्राधिकरणले २०६९ साल कार्तिक १७ गतेबाट नयाँ एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट लागू गरी उड्डेयन खेलकूद (एभियसन स्पोर्टस) लाई एओसीबाट पृथक गरी एभियसन स्पोर्टस अपरेटर सर्टिफिकेट (एएसओसी) मा रुपान्तरण गरेको छ ।

Biking

बाइकिङ ।

प्राधिकरणका अनुसार हालसम्म २७ वटा कम्पनीलाई एएसओसी प्रदान गरेकोमा १ वटाको एएसओसी रद्द भएको छ भने हाल २१ वटा प्याराग्लाइडिङ र ३ वटा अल्ट्रालाइट सञ्चालनमा रहेका छन् ।

नेपालमा चर्चामा रहेका साहसिक गतिविधिहरु हिमाल आरोहण, ट्रेकिङ, माउन्टेन फ्लाइट, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बञ्जी जम्म, जंगल सफारीलगायत हुन् । यी गतिविधिमा स्वदेशी विदेशीको उल्लेख्य सहभागिता हुने गरेको पाइन्छ ।

खासगरी नेपालमा साहसिक गतिविधिहरु हिमाली, उच्च पहाडी र पोखरा क्षेत्रमा हुने गरेको छ । अन्य क्षेत्रहरुमा पनि साहसिक गतिविधिहरुको विकास गर्न सकेमा यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने थियो ।

Zip-Flyer

जिप फ्लायर ।

Treakking

ट्रेकिङ ।

Tandem-Swing

तेन्डम स्विङ ।

Paragrading

प्याराग्लाइडिङ ।

Mountain-Flight

माउन्टेन फ्लाइट ।

साभार : अनलाइनखबर, नविन अर्याल

 

Categories: पर्यटन

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.