पर्यटन : अवसर र सम्भावना

पर्यटन : अवसर र सम्भावना

‘वा न विलियन टुरिष्ट, वान विलियन अपरच्युनिटी’ अर्थात् एक अर्ब पर्यटक, एक अर्ब अवसर’ भन्ने नाराले नै स्पष्ट पार्छ कि पर्यटनबाट अथाह सम्भावनाहरू सिर्जना हुनसक्छन्। ३६ औं विश्व पर्यटन दिवसको यो मूल नाराले नेपालको पर्यटनमा धेरै महत्त्व राख्छ। नेपलमा पर्यटन उद्योगको ठूलो महत्त्व रहेको छ। पर्यटन एक क्रियाशील उद्योग हो।

पर्यटन प्रबद्र्धन गर्न र अनगिन्ती अवसरहरू सिर्जना गर्दै फाइदा लिन नयाँ–नयाँ कार्यक्रमहरू आयोजना गर्ने, पर्यटकीय अकर्षणहरू थप्दै जाने, पर्यटकलाई दिइने सेवासुविधाहरूमा गुणात्मक सुधार गर्दै जाने, शान्ति सुरक्षामा सुधारजस्ता कुराको आवश्यकता पर्छ। पर्यटनले विदेशी मुद्रा आर्जन गर्नेमात्र नभई प्रत्यक्ष—अप्रत्यक्ष रूपमा लाखौंलाई रोजगारी सिर्जना गर्ने, अनुपम प्राकृतिक छटा, बहुसंस्कृति र गौरवशाली इतिहासलाई विश्वसामु परिचित गराउने काम पनि गर्छ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालयका अनुसार सन् २०१४ मा आठ लाख हाराहारीमा विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएका थिए। पर्यटकहरूको औसत नेपाल बसाइ १२.४४ दिन, एक दिनको औसत खर्च ४८ डलर रहेको छ। वर्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार २०१४ को लागि कुल गार्हस्त उत्पादनमा प्रत्यक्ष रूपमा ४.३ प्रतिशत र अप्रत्यक्ष रूपमा ८.९ प्रतिशत पर्यटनको सहभागिता रहेको छ भने २०१५ मा बढेर प्रत्यक्ष रूपमा ५.४ प्रतिशत र अप्रत्यक्ष रूपमा ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ। त्यस्तै पर्यटन क्षेत्रले ४,८७,५०० प्रत्यक्ष र १०,५९,००० अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।

त्यस्तै सन् २०२५ मा ६,८१,००० प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कुरा प्रक्षेपण गरेको छ। उपरोक्त तथ्याङ्कबाट नै प्रस्ट हुन्छ, पर्यटनले नेपाली अर्थतन्त्र, रोजगारी एवं सामाजिक क्षेत्रमा सकारात्मक एवं उल्लेख्य योगदान गरेको छ। विदेशी पर्यटकहरूको मात्र होइन, आन्तरिक पर्यटनको पनि धेरै नै ठूलो योगदान रहेको छ, नेपाली पर्यटन उद्योगमा। नेपालीहरूको घुम्न जाने, रेष्टुरेन्टमा खान जाने, रमाइलो गर्ने संस्कारको विकास द्रुतगतिमा भएको छ। सस्तो गेष्टहाउस खोज्दै हिँड्ने, बाटोमा पाउरोटी र चटपटे खाँदै हिँड्ने र दिनको २० डलरभन्दा कम खर्च गर्ने विदेशी (झोले) पर्यटकभन्दा निकै धेरै गुना खर्च गरेर घुम्ने नेपालीको संख्या उल्लेख्य छ, नेपालमा। त्यसैले सम्भावनाहरू बोकेको नेपाली पर्यटनबाट अवसरहरू सिर्जना गर्न आन्तरिक पर्यटनको पनि उत्तिकै प्रबद्र्धन गर्न जरुरी छ।

बैसाख १२ गते गएको महाभूकम्पले नेपालको पर्यटनमा पुर्‍याएको क्षतिलाई लुकाउन त सकिंँदैन, तर पनि समग्र नेपालको पर्यटनलाई हेर्ने हो भने क्षति कमै मान्नुपर्छ। भूकम्पले पचहत्तर जिल्लामध्ये एक दर्जन जिल्लामा मात्र ठूलो क्षति पुगेको, दसवटा नेसनल पार्कमध्ये एउटामात्र प्रभावित, ८ वटा विश्व सम्पदा सूचीमा रहेका स्थलहरूमध्ये २ वटा प्रभावित, नेपालका ९५ प्रतिशत होटलहरू सुरक्षित र सुचारु, सम्पूर्ण राजमार्गहरू सुरक्षित र सुचारु, ९५ प्रतिशत ट्ेरकिङ रुटहरू सुरक्षित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू सुरक्षित र सुचारु नै छन्। विश्वकै उत्कृष्ट पदयात्रा मार्ग अन्नपूर्ण (६० प्रतिशत पदयात्री), खुम्बु (२० प्रतिशत पदयात्री) जाने पदमार्गहरू लगायत अन्य पूर्व र पश्चिम क्षेत्रका हिमाल र पदमार्गमा जान कुनै सङ्कोच मान्नुपर्ने अवस्था छैन।

काठमाडौं उपत्यका लगायत प्रमुख पर्यटकीय स्थलहरू सगरमाथा, लाङटाङ र मनास्लुमा भएको क्षति क्रमश: पुनर्निर्माण हुँदैछन्। ती स्थानहरूमा पर्यटकीय गतिविधि सञ्चालन हुनसक्ने अवस्था छ। धार्मिक एवं सांस्कृतिक महत्त्वका स्थलहरू हलेसी, जनकपुर, मुक्तिनाथ, लुम्बिनी, स्वर्गद्वारी, खप्तड सबै सुरक्षित छन्। काठमाडौंबाट नजिकका पोखरा, चितवन, तानसेनजस्ता पर्यटकीय स्थलहरूमात्र होइन, रारा, मुस्ताङ, हुम्ला, जुम्ला, भेडेटार, इलाम लगायत थारू भिलेज, होमस्टे पर्यटनको प्रबद्र्धन गर्ने र पर्यटकहरूलाई लैजान जरुरी छ।

नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक, खेलकुद, होमस्टेजस्ता पर्यटनहरूमात्र नभएर महाभूकम्प र १० वर्षे राजनीतिक द्वन्द्वजस्ता विषयका पर्यटनको पनि सम्भावना छ। घाटु नाच होस् कि चर्या, थारू नाच होस् कि धान नाच, गाईजात्रा होस् कि तोरन्ला, माघी होस् कि गौरा पर्व, सगरमाथा होस् वा लुम्बिनी, पशुपतिनाथ होस् वा जनकपुर, बञ्जी जम्प होस् वा र्‍याफटिङ, जंगल सफारी होस् वा ट्रेकिङ सबैको आ—आफ्नै महत्त्व र आकर्षण छ। नेपाली पर्यटनमा अनगिन्ती सम्भावना छन्। ती सबैको स्वाद लिन अनगिन्ती पर्यटकहरू आउन सक्छन् र नेपालले प्रत्यक्ष—अप्रत्यक्ष रूपमा धेरै फाइदा लिन सक्छ, अवसरहरू सिर्जना गर्न सक्नुपर्छ। पर्यटन भनेको एक व्यक्ति र संस्था मात्रको सहभागितामा एक व्यक्ति र संस्था मात्रलाई फाइदा दिने कुरा होइन, यो त धेरै व्यक्ति र धेरै संस्थालाई सहभागी गराएर धेरैले फाइदा बाँड्ने—लिने प्रक्रिया हो।

तर पर्यटन उद्योगलाई राजनीतिक दल र नेता/कार्यकर्ता, सरकार, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघ/संस्था सबैले न्युन आँकलन गरेका छन्। पर्यटकीय सिजन सुरु हुनलागेको अवस्थामा आम मानिसहरू र विदेशी पर्यटकहरूले संविधान निर्माणपछि देशले निकास पाउनेछ, शान्ति सुव्यवस्था कायम हुनेछ, पर्यटन लगायत अन्य आर्थिक गतिविधिमा तीव्रता आउनेछ भन्ने अपेक्षा गरेका थिए। तर बैसाख १२ गते गएको महाभूकम्पले थिलथिलो पारेको नेपालको पर्यटनलाई तराई–मधेस लगायत देशका विभिन्न भागमा भइरहेका बन्द, हडताल, हत्या, हिंसा, आगजनी, तोडफोडले अझ बढी जर्जर बनाएको छ। अनिश्चितता थपेको छ। यो अवस्थामा आक्रामक किसिमले पर्यटन प्रबद्र्धनमा लाग्न र क्षति भएका पर्यटकीय क्षेत्रको पुन:निर्माण शीघ्र हुन जरुरी छ। महाभूकम्पपछि पर्यटनलाई पुन: पहिलेकै अवस्थामा ल्याउन र अझ प्रभावकारी रूपमा पर्यटनको विकास गर्न जरुरी थियो। यसका लागि सरकारले पर्यटन पुनरुत्थान समिति गठन लगायत अन्य धेरै काम गर्ने प्रतिबद्धता पनि प्रकट गर्‍यो, तर ती सबै कुरा कर्मकाण्डी मात्र बने।

पर्यटन जीवित छ भन्ने सन्देश दिन आन्तरिक पर्यटनको प्रबद्र्धन पनि एक सशक्त उपाय हुनसक्छ। त्यसका लागि नजिकिएको दसंैमा नयाँ कार्यक्रम लागू गर्न सकिन्छ। यो पटकको दसैं पेस्की घुम्नमा खर्च गरौंं। दसैं विदामा कुनै एक नयाँ ठाउँ घुम्न जाउँ। विदेशमा रहेका नेपाली (एनआरएन) हरू कम्तीमा परिवारको १ जना नेपाल आऔं, आफ्नो गाउँ वा अन्य स्थानहरू घुम्न जाउँ।

साभार : कान्तिपुर, डा. हिमलाल घिमिरे

 

Categories: पर्यटन

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.