जलवायु परिवर्तनको सचेतना

जलवायु परिवर्तनको सचेतना

जलवायु परिवर्तन वातावरणीय प्रणालीको समसामयिक अवधारणा हो । विकासका मानवीय क्रियाकलापबाट हरितगृह उत्सर्जन प्रणालीमा पर्ने प्रभावस्वरूप वायुमण्डलको तापमानमा आउने परिवर्तनबाट सृजित असन्तुलित वातावरणीय क्रियाकलाप जलवायु परिवर्तन हो । यो कुनै निश्चित ठाउँको लामो समयावधिमा तापक्रम, वर्षा वायुको बहाव र हिउँ पर्ने तौरतरीकामा आउने परिवर्तन हो । अन्ततः यसले विश्व तापमण्डलको संरचनालाई परिवर्तन गर्छ । जलवायु परिवर्तनको प्रमुख कारण हरितगृह ग्यासको निष्पादन हो, जसलाई पृथ्वीमाथि हुने अनियन्त्रित मानवीय क्रियाकलापको डरलाग्दो उपज मानिन्छ । हरितगृह ग्यासले पृथ्वीको तापक्रमलाई सन्तुलित बनाई राख्न मद्दत गर्छ । पृथ्वीको  स्वाभाविक चाल जसलाई यसको पर्यावरणले थेग्न सक्छ, त्यतिबेला सम्म जलवायु परिवर्तनको परिणाम देखिँदैन । जब भारवहन क्षमता वा पृथ्वीको स्वाभाविक चाललाई मानव क्रियाकलापले उछिन्छ त्यसपछि नै हरितगृह ग्यासको सतह बढ्न गई विश्व तापमान बढ्न जान्छ । हरितगृह ग्यास समूहमा कार्बनडाइअक्साइड, हाइडोफ्लोरो कार्बन, परफ्लोरा कार्बन, सल्फर हेक्जाफ्लोराइड र धूलकणहरू पर्छन् ।

विश्व वायुमण्डलमा तापमान वृद्धि भई हरितगृहलाई प्रभाव पार्दै आएको विषय सन् १८५० देखि चासोका रूपमा विकसित भई आएको हो । जतिजति औद्योगिक विकास र शहरीकरण विस्तार हुँदै गयो । क्रमशः तापमान वृद्धि अनुभूत स्तरमा बढ्न गई यससम्बन्धी चासोहरू पनि अझ विस्तार हुँदै आएको हो । यो समस्या विकसित मुलुकबाट भएको औद्योगिक प्रगतिको कारण सिर्जिएको हो, जसको लाभ उनीहरूले नै लिइरहेका छन् भने लागत गरीब तथा विपन्न मुलुकहरूले बेहोरिरहेका छन् । बर्लिन वा शिकागो शहरको प्रगतिको लागत सिराहा र सोलुखुम्बुले बेहोर्नु परिरहेको छ । इण्डोनेशियामा सुनामी आउँदा नेपालमा महँगी बढ्नुपरेको छ । चीनमा अत्यधिक गर्मी हुँदा नेपालमा हिउँ पग्लिएको छ । भारतमा सुक्खा हुँदा नेपालमा लोडशेडिङ बढेको छ । नेपालमा घनघोर वर्षा हुँदा भारतमा डुबानको समस्या देखिएको छ । यसरी जलवायु परिवर्नन एउटा देशको आफ्नै भौगोलिक सीमाभित्रको समस्या मात्र नरहेर विश्वव्यापी समस्या बनेको छ ।

सन् १९९२ मा सम्पन्न रियो सम्मेलनबाट पारित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय खाका महासन्धिले बढ्दो तापमानका सम्बन्धमा विश्व समुदायलाई सचेत गराउँदै दिगो विकासको कार्यसूचीको विस्तृत आयाम उघा¥यो । विश्व वायुमण्डलमा जलवायु परिवर्तनका प्रमुख कारक औद्योगिक राष्ट्रहरू हुन् । उनीहरू नै कार्बन तथा कार्बनजन्य हरितगृह ग्यास उत्सर्जनका प्रमुख जिम्मेवार पनि हुन् । त्यसैले विकसित राष्ट्रहरू नै निश्चित तहमा हरितगृह ग्यास उत्सर्जनका प्रमुख र नैतिक जिम्मेवार हुन् । विकासशील राष्ट्रहरूसँग स्रोत, साधन, शीप र क्षमता न्यून भएर असरका भागीदार तिनीहरू नै बनेका छन् । तसर्थ बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले विकासशील मुलुकहरूलाई कार्बन वित्तमार्फत क्षतिपूर्ति सहायता गर्र्नुपर्ने दायित्व रहेको छ भने विकासशील मुलुकहरूले असरबाट अनुकूलित हुँदै जाने क्षमता विकास गर्नुपर्ने भएको छ । पछिल्लो समयमा विकासशील मुलुकहरू जलवायु परिवर्तनको अत्यन्त जोखीम र संवेदनशील अवस्थामा छन् भने त्यहीँ नै क्षमता, वित्त र व्यवस्थित कार्य प्रणालीको अभाव छ । विकसित औद्योगिक मुलुकहरूबाट नियमानुसार पाइने सुविधा लिनका लागि पनि विकासशील मुलुकहरूले क्षमता विकास गर्नुपर्ने आवश्यकता छ ।

नेपाल पनि जलवायु परिवर्तनको प्रभावमूलक संवेदनशील मुलुक हो । नेपालको भूधरातलीय संरचना कमजोर प्रकृतिको छ । त्यसकारण प्रकोप तथा विपत्तिको असर वहन क्षमता पनि न्यून देखिन्छ । बढ्दो जनसङ्ख्या, अव्यवस्थित खेती तथा बस्ती प्रणालीले जोखीमलाई झनै बढाउँदै लगेको छ । तापक्रम वृद्धिले वर्षायाम र मौसमी स्वभावलाई परिवर्तन गर्दै लगेको छ । मनसुन प्रक्रियाको अनिश्चिताले कृषि उत्पादनलाई सीधै चुनौती दिएको छ । परम्परागत कृषि प्रणाली अबको केही समयमा उही रूपमा रहन नसक्ने देखिन्छ । यसले बढ्दो  जनसङ्ख्याको खाद्य सुरक्षालाई पनि चुनौती दिएको छ  । चेतना र प्रविधि उपयोगको स्तर पनि न्यून छ । विकासको अवस्था पनि प्रारम्भिक नै छ । त्यसैले यहाँ जलवायु परिवर्तनको असर अन्य मुलुकको तुलनामा बढी हुन गएको हो । जलवायु परिवर्तनले खासगरी अधिक तापक्रम वृद्धि हुने, गर्मी हुने दिनको सङ्ख्यामा वृद्धि हुने, तातो हावा बहने प्राकृतिक घटनाक्रममा वृद्धि हुने, न्यूनतम तापक्रम, ठण्डी दिनहरू, हिउँ वा तुषारो पर्ने दिनको सङ्ख्यामा कमी हुने, कतै तीव्र वर्षा हुने, कतै सुक्खा खडेरीका घट्नामा वृद्धि हुने, नयाँनयाँ सङ्क्रमित रोगहरूको विस्तार हुने, वनजङ्गल पातलिँदै जाने, जनजीवनका पानीसम्बन्धी समस्या पर्ने देखिन्छ ।

जलवायु परिवर्तनले मानिसको आर्थिक तथा सामाजिक पक्षहरूमा पनि नकारात्मक असर पर्ने गरेको छ । हिमाली क्षेत्रहरूमा जडीबुटीहरू क्रमशः लोप हुँदै जान थालेका छन् । साविकभन्दा अन्नबाली चाँडै पाक्ने र फूलहरू छिट्टै फूल्ने गरेका छन् । गर्मी हुने बेलामा जाडो हुने र जाडो हुने बेलामा गर्मी हुनेजस्ता विकृति देखा पर्न थालेका छन् । उता सर्प, चिल र लामखुट्टे उच्च पहाडी भेगमा पनि देखा पर्न थालेका छन् भने कुकुरहरूको प्रजनन प्रक्रिया पनि बाह्रै महीना हुने अनौठो व्यवहार देखिन थालेको छ । हिमनदीहरू वाार्षिक ३०–६० मिटर छोटिँदै र १०–१२ मिटरले पातलिँदै गएका छन् ।

यसप्रकार जलवायु परिवर्तन वातावरणीय विनाशको आधार मात्र होइन, मानवजीवनको अस्तित्वको कारक पनि हो । तसर्थ यसको प्रभाव न्यूनीकरण महवपूर्ण सामयिक सवालका रूपमा खडा भएको छ । यसै तथ्यलाई दृष्टिगत गरी नेपालले यस क्षेत्रमा भएका अन्तरराष्ट्रिय तथा राष्ट्रिय सन्धि महासन्धिहरूबारे अनुमोदन तथा सम्मिलन गर्दै तदनुसार राष्ट्रिय नीति, कानून तथा संस्थागत संयन्त्रहरूको व्यवस्था गरेको छ । सरकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासमेतको सक्रियतामा राष्ट्रिय तथा स्थानीय अनुकूलनका रणनीतिक कार्यक्रमहरू, कार्बन व्यापारको थालनी वातावरणीय संवेदनशीलताका मुद्दाहरूको आन्तरीकरण र सम्बोधनजस्ता प्रयास पनि नभएका होइनन् । तथापि यसको आवश्यक अनुकूलन र असरको न्यूनीकरण गर्दै वातावरणीय स्वच्छता र दिगो विकासका लागि जल विद्युत् विकास, वनजङ्गल संरक्षण र वृक्षरोपण, विष्फोटक पदार्थको न्यूनीकरण, उन्नत कृषि प्रणाली, व्यवस्थित शहरीकरण, फोहोरमैला व्यवस्थापन, जनसङ्ख्या नियन्त्रण, ग्रीन लिडरशीप विकासलगायत प्रभावकारी कार्यक्रमहरू लागू गरेर अगाडि बढ्न जरुरी छ । सरोकारवाला सबैलाई चेतना भया ।

स्रोत: अभियान 

Categories: वातावरण

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.

Write a Comment

Only registered users can comment.