नेपालको युरेनियम : विदेशी चासो

नेपालको युरेनियम : विदेशी चासो

Gopal Bhandari
गोपाल भण्डारी

केही वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले एक भारतीय वैज्ञानिकलाई उद्धृत गर्दै माथिल्लो मुस्ताङमा युरेनियमको ठूलो भण्डार रहेको बताएका थिए । श्रेष्ठका अनुसार, ती भारतीय वैज्ञानिकले दशकअघि नै प्रयोगशाला परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा रेडियोधर्मी विकिरण फेला पारेका थिए । रेडियोधर्र्मी विकिरण हुनु भनेको युरेनियम रहेको संकेत हो । उपल्लो मुस्ताङ अर्थात नयाँ मुलुक भनेर चिनिने क्षेत्रको माटो प्रतिकिलो हजार रुपैयाँको भाउले बिक्री हुनसक्ने जानकारी श्रेष्ठले एक वैज्ञानिकको हवाला दिएर खुलासा गरेका थिए । मुस्ताङको माटो किलोको हजार रुपियाँ यस्तो चर्चाले राजधानी र देशभरी आश्चर्य थपिदिएको थियो । उनका अनुसार ती बैज्ञानिकको अनुसन्धानपछि उपल्लो मुस्ताङ क्षेत्रमा युरेनियमको खानी रहेको पत्ता लागेकोले त्यहाँको माटो पनि अमूल्य रहेको उनको दावी छ । ती बैज्ञानिक को हुन? कसले उनलाई युरेनियमको अनुसन्धान गर्ने अनुमति दियो ? जस्ता कुनै पनि रहस्य उनले खुलाएका छैनन् । उनले यति भनेका छन् कि आफू पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा संयुक्त राष्ट्रसंघमा जागिरे भएका भारतीय एक वैज्ञानिकले उपल्लो मुस्ताङको लोमाथाङकामा अत्यधिक मात्रामा युरेनियम भएको उहाँलाई बताएका थिए । ती वैज्ञानिकले पाँच किलो माटो लेमाथाङकाबाट कसैले लगेमा झन्डै ७० हजार भारतीय रुपियाँ बराबरको नेपाललाई नोक्सान पर्ने पनि आफूलाई बताएका थिए । यस सम्बन्धमा सरकारका बिभिन्न निकायमा जानकारी गराउँदा कसैले गम्भीर रुपमा लिएनन् । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा किन नहुने ? खासमा युरेनियम पाइने चट्टान युरेनिफेस रकको नेपालमा पनि उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा विभिन्न स्थानमा छिटपुट युरेनियमको सम्भावना भएको निष्कर्ष निकालियो ।

सन् १९८५ मा खानी तथा भूगर्भ विभागले भूगर्भ्विद् रामनगिना यादवको अगुवाइमा पूर्वी, मध्य तथा पश्चिम नेपालको चुरे पर्वत शृंखला तथा तराईका केही फाँटमा युरेनियमको प्रारम्भिक अध्ययन गरियो । सन् १९८७ मा खानी विभागका भूगर्भ्विद् कृष्णप्रसाद काफ्लेको नेतृत्वमा युरेनियमको खोजी पुनः सुरु भयो । काफ्लेको टिमले कमला नदीबाट सुरु गरी बागमती नदीसम्मको भागमा अनुसन्धान गर्यो । सन् १९८८ मा काफ्लेको टोली मकवानपुरस्थित तीनभंगाले तथा चाँदी खोलाका केही भागमा अत्यधिक रेडियोधर्मी विकिरण रेकर्ड गर्न सफल भयो । स्नातकोत्तर तहको शोधपत्रका लागि सन् १९९४ मा विनिल अर्याल, जो अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन, उनले तीनभंगाले–कालो खोलाको युरेनियम मिश्रित चट्टानका टुक्राबारे गामा–रे स्पेक्ट्रोस्कोपी प्रविधि अनुरुप विस्तृत अध्ययन गरे । उनले एक लाख कणमा ३ हजार ६ सय ३६ कण युरेनियम भएको चट्टान फेला पारे । यस बाहेक विभिन्न समयमा विभिन्न प्रकारले नेपालमा विदेशीहरुद्वारा युरेनियम अन्वेषण हुँदै आएको छ । स्थानीयका अनुसार मकवानपुरको तीनभंगालमा अमेरिकीदेखि भारतीय मूलका नागरिकहरू पटकपटक आइसकेका र आइरहेका छन । जस्तो कि, सन् १९७५ मा अमेरिकाका कोनाक्का र पोल्यान्डका जोन मेकीको संयुक्त टोलीले लाङटाङ हिमाल आरोहण गरेको थियो । उनीहरु आरोहण सकेर देश फर्केपछि मात्र थाहा भयो कि त्यस आरोहण टोलीले लाङटाङ क्षेत्रकै रेडियोधर्मी विकिरणको अध्ययन गरेको रहेछ । २३–२७ फेबुरअरी १९९६ मा भारतको पन्जाब राज्यको पटियालास्थित पन्जाब विश्वविद्यालयमा रेडियसन फिजिक्सको राष्ट्रिय सम्मेलनमा नेपालको चुरे शृंखलामा युरेनियमको राम्रै सम्भावना रहेको र त्यसको उत्खननबाट हुन सक्ने प्रभाव बारेमा भाभा आणविक केन्द्रका वैज्ञानिकहरुले छलफल गरेका थिए । त्यही वर्ष एक अमेरिकी जर्नलमा नेपालमा युरोनियम भण्डार रहेको अनुसन्धानात्मक लेख प्रकाशित भएपछि खानी विभाग र नेपाली वैज्ञानिकहरु माझ निकै चर्चा भएको थियो । विसं २०५४ मा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्री मिर्जादिलसाद वेगले भाभा आणविक केन्द्रसँग सम्बद्ध एनएस शर्मालाई अति लुप्त खनिजको अध्ययन गर्न इजाजत दिएका थिए । खासमा शर्मा चाहिँ डडेलधुरामा माउन्टेन बोर्डिङ स्कुलको प्रिन्सिपल भएर चार वर्षसम्म बैतडी,बझाङ क्षेत्रको अध्ययन गरेका थिए । यद्यपी उनले गरेको विस्तृत रिपोर्ट नेपाल सरकार समक्ष पेस गरिएन । मिर्जा ०५५ मा मारिइसके भने शर्मा चाहिँ माओवादी द्वन्द्वका बेलामा भारततिरै फर्किए । सुरक्षा स्रोतहरु वेगको हत्यालाई युरेनियम तस्करीसँग पनि जोडेर हेर्नुपर्ने बताउँछन् ।

अमेरिकाको ऊर्जा मन्त्रालय अन्तर्गत जीटीआरआई परियोजनाले पनि नेपालको युरेनियममा निकै चासो देखाइरहेको देखिन्छ । त्यस्तै दक्षिण कोरियाको कोरियन इन्स्च्युट अफ जिओ–साइन्स एन्ड मिनरल्स रिसोर्सेस नामक संस्थाले युरेनियम लगायत लुप्त ऊर्जाजन्य खानी अन्वेषणका लागि नेपालको खानी विभागसँग सहकार्य गर्ने औपचारकि प्रस्तावसमेत पठाएको छ । खानी विभागका उच्च पदाधिकारी भन्छन, ‘कोरियनको अन्वेषण सहकार्य प्रस्ताव सही हो तर त्यसबारेमा ठोस निर्णय भइसकेको भने छैन’। दुई वर्षयता नेपालको युरेनियम अन्वेषणमा राष्ट्र संघीय निकाय अन्तर्राष्ट्रिय परमाण्ुा ऊर्जा संस्था (आईएईए)ले विशेष चासो देखाइरहेको छ । सन् २००८ मा नेपाल आईएईएको सदस्य भएकाले पनि उसले युरेनियम र रेडियोधर्मी विकिरणसँग सम्बन्धित विभिन्न निकायलाई सहयोग गर्न सन् २०१२–२०१५ सम्म सम्पन्न हुने गरी ६१ लाख अमेरिकी डलर (करीब ६१ करोड रुपियाँ)को परियोजना दिएको छ । आईएईएले खानी विभागलाई झन्डै ७५ हजार युरो पर्ने गामा रेज एनलाइजर र सेन्टिलेसन काउन्टरजस्ता उपकरण दिने भएको छ । यतिसम्म कि गत भदौ–असोजमा आईएईएका तीन जना युरेनियम विज्ञहरु नेपाल आएर खानी विभागका कर्मचारीलाई विशेष तालिम समेत दिएका थिए । त्यही क्रममा जीन रेनी ब्लेज र खानी विभागको टोलीले तीनभंगाले क्षेत्रको निरीक्षण समेत गरेको थियो । विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च स्रोतका भनाइमा यी भ्रमणको उद्देश्य खासमा नेपालको युरेनियम भण्डारबारे विस्तृत रिपोर्ट लिने नै बुझिन्छ । दातृ निकाय सोझै युरेनियम सम्बन्धी अध्ययन भनेर आउँदैनन, उनीहरु नेपालको खानी अन्वेषणमा दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक सहयोगका नाममा आउँछन् र आफ्ना विज्ञहरुलाई लिएर फिल्डमा जान्छन् । अनि, त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्ने भनेर आफ्नै देशमा लैजान्छन् ।

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.