नेपाल सरकारको भावी बैज्ञानिक कदम

नेपाल सरकारको भावी बैज्ञानिक कदम

Gopal Bhandari
गोपाल भण्डारी

हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने कुरा गर्न थालेका छन् । साँच्चै नै नेपाललाई यी मुलुकहरूको स्तरमा पु¥याउने हो भने ती देशहरूमा विगतमा भएका विकास प्रक्रियालाई बुझ्नुपर्दछ र त्यसबाट पाठ पनि सिक्नुपर्दछ । यसका लागि उनीहरूले जस्तै हामीले पनि आफ्नो वैज्ञानिक दक्षतामा वृद्धि गर्नुपर्दछ । नेपालमा विज्ञान तथा प्रविधिको विकास गर्नका लागि वृहत एवं सुसङ्गत राष्ट्रिय रणनीति र रूपरेखा बनाउनु पर्दछ । अन्यथा नेपाललाई सिङ्गापुर वा स्विट्जरल्याण्ड बनाउने नेताहरूको सपना केवल दिवास्वप्न मात्र हुनेछ ।

यदि युरेनियम उत्खनन गरेर निर्यात गर्ने हो भने नेपालमा बिकासको मूल फुट्न सक्छ । नेपालमा प्रशोधनपछि राम्रै मूल्य प्राप्त हुने युरेनियम खानीको सम्भावना देखिएको छ । यसले मुलुकप्रति विश्वकै सुरक्षा चासो बढाउँछ । अरेवियन देशहरु तेल बेचेर शक्ति सम्पन्न बनेका छन् । नेपाल पानीको धनी थियो, त्यसको एकाधिकार गुमाएको अवस्था छ । अब युरेनियमको चर्चा आएको छ । युरेनियम महाभारत श्रृंखलामा पनि प्रशस्तै मात्रामा भएको खुलासा पहिले भएको हो तर नेपालमा सँधै राजनीतिक अस्थिरताका कारणले नेपाल गरीब र कमजोर बन्दै गएको छ । स्मरणीय छ, ३० वर्ष अघि खानी विभागबाट अनुमति लिएर भारतको टाटा कम्पनी समेतले रोल्पा क्षेत्रमा तामाखानीको उत्खनन भएको थियो । तामा प्रशस्त भेटिए पनि निकाल्न मुस्किल परेपछि उक्त कार्य रोकिएको थियो । ती उत्खननकर्ता अहिले पनि कलकत्तामा जिवितै छन् । रिपोर्ट खानी विभागमा रहेको छ । रोल्पा क्षेत्रमा तामाखानीका खाल्टाहरु अझै पनि त्यत्तिकै रहेका छन् । कतै त्यही उत्खननबाट युरेनियम पत्ता लागेको त होइन । विगतमा पनि नेपालमा फलाम, तामा, नुन लगायतका खानीहरू भेटेर हाम्रा पूर्वजहरूले त्यसको प्रयोग नगरेका होइनन् तर खानीको अध्ययन, अन्वेषण गर्न ठूलो लगानी लाग्ने हुनाले खानी विकासतर्फ सरकारले ध्यान दिन सकेको छैन । न त निजी क्षेत्रले नै लगानी गर्न सकेको छ । बेलाबेला पूर्व–पश्चिमतर्फ पेट्रोलियम पदार्थ भेटिएको चर्चा हुन्छ तर त्यो चर्चा यत्तिकै सेलाउने गरेको छ । विदेशीले पनि यसको अध्ययनमा रुचि देखाएको समाचार आउँछ तर पानीको फोका जसरी हराउने गरेको छ । कम्तीमा लोमन्थाङमा भेटिएको युरेनियम खानीको विस्तृत अध्ययन गरी यसको दोहनतर्फ सरकारले ध्यान दिनुपर्ने खाँचो छ । विस्तृत अध्ययनपछि मात्र युरेनियम कति गुणस्तरको छ, कति परिणाममा निकाल्न सकिन्छ भन्ने थाहा हुन्छ ।

राज्यले चाहे जे पनि हुन्छ काम गर्ने इच्छाशक्ति हुनुपर्छ । हामी टाढा जानु पर्दैन, नजिकको देश भुटान हिजोसम्म कहाँ थियो ? उसले छोटो समयमा हाइड्रो पावरको बिकासले कति धेरै परिवर्तन गरिसक्यो । हामी भने अध्यारोमा छामछुम गरेर बसेका छौं । हामीभन्दा पछाडी बिजुली बाल्ने जापान कहाँ पुगिसक्यो ? हामी आधा दिन सधै बिजुलीबिना बस्नु परेको छ । केही दशक अघिसम्म विकासोन्मुख मुलुकको दर्जामा रहेका एसियाका कैयौं मुलुकहरू हाल विकसित मुलुकका सदस्य बनिसकेका छन् । दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र ताइवानजस्ता देशहरूले आफूलाई विकासोन्मुख देशको सूचीबाट विकसित देशको खुट्किलोमा पुयाई सकेका छन् भने हाम्रा निकट छिमेकी भारत र चीन अठोटका साथ प्रगतिका पथमा द्रूत गतिले लम्किरहेका छन् । यी दुवै राष्ट्र सन् २०२५ सम्ममा विश्वकै शक्तिशाली आर्थिक केन्द्रका रूपमा स्थापित हुने अनुमान अर्थशास्त्रीहरू गर्दछन् । यी देशहरूले प्राप्त गरेको आर्थिक उन्नतिका कारणहरू मध्ये एक प्रमुख कारण यिनीहरूले समयमा नै राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधिको महत्वलाई स्पष्ट बुझ्नु र आत्मसात् गर्नु हो । विगतका केही दशकमा यी मुलुकहरूले विज्ञान तथा प्रविधिका उच्चस्तरीय संरचनाहरूमा गरेको विकास अनुकरणीय छ । विकसित मुलुकहरूमा वैज्ञानिक क्षमताको विकास एकदिनमा भएको होइन । विज्ञान तथा प्रविधिका विकासका लागि दशकौंसम्म ती मुलुकका राजनीतिक नेतृत्वले लिएको दृढ अठोटका कारण यो सम्भव भएको हो । आधुनिक नेपालको निर्माण भएपछि लगभग दुईसय वर्षसम्म पनि नेपालमा विज्ञान तथा प्रविधिको विकासबाट विश्वमा औद्योगिक क्रान्तिबाट भएको सामाजिक रुपान्तरण नेपालमा नदेखिए पनि वि.सं २००७ को ऐतिहासिक राजनीतिक परिवर्तनपछि आधुनिक विज्ञान तथा प्रविधिको विकासमा पाइला चाल्न शुरुवात ग¥र्यो । विश्वका उदाउँदा छिमेकी देशहरू भारत र चीन दुवै अन्तरिक्ष युगमा प्रवेश गरी सकेकोले गर्दा नेपालमा पनि विज्ञान प्रविधिको विकास गर्न इच्छाशक्ति भएको राजनेता, राजनीतिक प्रतिवद्धता र राष्ट्रिय विज्ञान नीति तत्कालै बनाई पाइला चाली हाल्नु पर्दछ । ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन् । नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ । विश्वका धनी र गरीव देशहरूबीच रहेको आर्थिक खाडलको मूख्य कारण भनेको असमान् वैज्ञानिक योग्यता भएकोले विकासील देशले आर्थिक विकास गर्न वैज्ञानिक क्षमतालाई अनवरत रूपमा ज्यामितीय बृद्धि गर्दे लैजानु पर्दछ ।

 

About Author