आणविक उर्जा नेपाललाई आवश्यक किन ?

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

Gopal Bhandari
– गोपाल भण्डारी

भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर हाम्रो आफ्नो सम्पूर्ण क्षमता उपयोग गर्दा पनि पुग्दैन । आगामी २५ वर्षसम्म नेपालको जनसंख्या ४ करोड अनुमान गरिएको हुनाले त्यस समय सम्ममा ४२००० मेगावाट बिजुली उत्पादन भएमा पनि प्रतिव्यक्ति बिजुली खपत ४६०० युनिट मात्र हुन आउंछ । १०००० युनिट प्रतिव्यक्ति पुयाउंन हामीलाई ८४ हजार मेगावाट २५ वर्ष्भित्र बनाउनुपर्दछ । नेपालका ६० प्रतिशत उपभोक्ता सधै अध्यारोमा बस्छन अनि मागअनुसारको विद्युत आपूर्ति हुनै नसकेको अवस्थामा छ । मल्थसको जनसख्याको सिद्घान्त अनुसार प्रत्येक २५ बर्षमा जनसख्या दोब्बर हुन्छ । तर हाम्रो देशमा भएको जलस्रोतको क्षमता ८३००० मेगावाट भने स्थिर हुन्छ । यो क्षमताले भविश्यको बिधुत मागलाई धान्न सक्दैन । अबको ५०/१०० बर्षपछि हाम्रा सन्ततीले हामीले भोग्नुपरेको जस्तो लोडशेडीङ्गको दुःख भोग्नु नपरोस भन्ने कामना मात्र नगरी हामीले आणविक उर्जातर्फ दिर्धकालीन सोचका साथ लाग्नुपर्दछ ।

एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति ३००००० ( तीन लाख ) टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट ८ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । ट्रेड टेकका अनुसार एक पाउण्ड एल्लो केकको मुल्य ३५ अमेरिकी डलर पर्दछ । आणविक हतियार र चिकित्सा विज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम १ ग्रामको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । नेपाली विकिपीडियामा भएको युरेनियम नामक लेखका अनुसार १० ग्राम शुद्ध युरेनियम–२३५ को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करबि २० करोड रुपियाँ) पर्छ । यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करबि २० अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो । तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । ऊर्जाको अत्यन्त शक्तिशाली स्रोत युरेनियमबाट विद्युत् उत्पादन हुन्छ । फ्रान्सले त ७५ प्रतिशत विद्युत् उत्पादन आणविक भट्टीबाटै गरेको छ । विश्वभर ४०० जति यस्ता आणविक भट्टी सञ्चालनमा छन् । आणविक भट्टी विरुद्धमा व्यापक आवाज उठाइरहेको अमेरिकामा मात्रै १०० सयजति यस्ता भट्टी छन् । आणविक भट्टीमा नाभिकीय क्रिया मार्फत उर्जा उत्पादन गर्ने गरिन्छ । आणविक भट्टीमा उर्जा उत्पादन गरेर बिजुली उत्पादन गर्न सकिन्छ । बिकसित देशमा १००० मेगावाट क्षमता भएको आणविक भट्टीले १० लाख मान्छे बस्ने एक आधुनिक शहरलाई पर्याप्त बिजुली प्रदान गर्न सक्छ । संसारकोे १२ % बिजुली यूरेनियम प्रयोेग भएको आणविक भट्टीबाट उत्पादन हुन्छ । अहिले पनि लोडशेडिङको समस्या भोग्नु परिरहेको बेला देशमा सरकारले ऊर्जा विकास रणनीति ल्याएको छ । हालसालै २० वर्षको ऊर्जा विकास कार्ययोजना पनि बनेको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीको अनुमानअनुसार बिश्वको उर्जा आवश्यकता सन् २०३० सम्म ६० प्रतिशतले बृद्धि हुनेछ । यो उर्जाको माग बिकासोन्मुख मुलुकबाट हुनेछ । बिश्वको कुल उर्जा उत्पादनको १९ प्रतिशत मात्रै जलबिद्युत छ । सानो १ मेगावाटको बिजुली उत्पादन गर्न समेत लगभग १५ करोड रुपैंया चाहिन्छ । यसको तुलनामा आणविक उर्जा धेरै सस्तो हुन जान्छ ।

हाम्रा बैज्ञानिक, जलस्रोतबिदहरु नेपालमा प्रशस्त पानी छ; किन चाहियो आणविक भट्टी भन्ने गर्दछन । के भावी सन्ततिको लागि नसोच्ने ? भविष्यलाई नसोची बतमानलाई मात्र सोच्ने ? नेपालको बिकास नहुनुमा दुरदर्र्शी सोचको कमीले पनि हो । बिगतमा मानिसले चन्द्रमामा पुगेको कल्पना नगरेको भए शायद मनिस चन्द्रमा पुग्ने पनि थिएन होला । पानी–पानी मात्र होइन अब खानीमा पनि लगानी गर्नुपर्छ । जलस्रोत मात्र होइन खनिज स्रोतको अधिक दोहनका लागि सार्वजनिक–निजी साझेदारीमा खानी उत्खनन गर्नुपर्छ । नदीनालामा बगेको पानीमात्र होइन माटोमुनि गडेका खनिज पदार्थको व्यावसायिक एवम् व्यवस्थित उत्खनन र बजारीकरण गर्न सके मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुग्ने तथ्य राज्यकोषमा दाखिला भएको राजस्वले पुष्टि गरेको छ । आफ्नै देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग नै देशको दिगो विकासका लागि आवश्यक हुन्छ । महँगो धातु युरेनियम निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो फड्को मार्न सकिने उनीहरू बताउँछन् । अस्ट्रेलियामा विश्वको सबैभन्दा ठूलो युरेनियम भण्डार छ । युरेनियम उत्पादनमा भने यो देश तेस्रो स्थानमा पर्छ । अस्टे्रलियाले आफूले उत्पादन गरेको सबै युरेनियम निर्यात गर्छ । विभिन्न पश्चिमेली देश युरेनियमबाट उत्पादित विद्युतमा निर्भर छन् । केही समय अघि मात्रै भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा सम्भवतः विश्वकै ठूलो परमाणु भण्डार फेला परेको थियो । १ लाख ५० हजार टन परमाणु भएको अनुमान गरिएको उक्त भण्डार पत्ता लगाउन ४ वर्ष लागेको थियो । यसरी हाम्रो देशमा भएको युरेनियमलाई खोज अनुसन्धान गरेर प्रशोधन गरी एल्लो केकलाई बिदेशमा निर्यात गर्न सकिन्छ । यसबाट अरबौ डलर पैसा कमाउन सकिन्छ । युरेनियमलाई प्रयोग गरी बिजुली निकालेर बिदेशमा बेच्न सकिन्छ । देश बिज्ञान प्रबिधिको क्षेत्रमा लम्कन्छ । तर यसको उपयोग गर्दा अतयन्तै होसियार हुनुपर्छ । आणविक भट्टी बनाएर एटम बम, हाइडोजन बम बनाउने भनेको होईन यसबाट बिजुली निकालौ । अत्यन्तै थोरै पिण्डबाट असाध्यै धेरै कल्पना गर्न नसकिने बिधुत शक्ती निकाल्न सकिन्छ । जसबाट हाम्रो देशम लोड्शेडिण्ग सदाको लागि हट्नेछ ।

About Author

Science InfoTech

Science Infotech is an online Science News Portal.